
काठमाडौँ – नेपाल र संयुक्त राज्य अमेरिकाबीच नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि महत्वपूर्ण सांस्कृतिक सम्पत्ति सम्झौता सम्पन्न भएको छ। चार वर्षभन्दा बढी समयको निरन्तर सहकार्यपछि सम्पन्न यस सम्झौतामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले हस्ताक्षर गरेका छन्। हस्ताक्षर समारोहमा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला तथा पुरातत्त्व विभागका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। यस सम्झौताले नेपालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा नयाँ आधार तयार गर्ने विश्वास गरिएको छ।
सम्झौताअनुसार, नेपालको सांस्कृतिक सम्पदाको अवैध तस्करी नियन्त्रण, गैरकानुनी रूपमा बाहिरिएका पुरातात्त्विक वस्तुको पहिचान तथा फिर्तीका लागि दुवै देशबीच सहकार्य सुदृढ गरिनेछ। अवैध रूपमा हटाइएका सम्पदाको प्रत्येक फिर्तीले नेपालको इतिहास पुनःस्थापित गर्ने र परम्परालाई मूल समुदायसँग पुनःजोड्ने कार्य गर्ने अपेक्षा गरिएको छ। हस्ताक्षर समारोहमा बोल्दै अमेरिकी राजदूत थम्पसनले यस सम्झौताले नेपालको सांस्कृतिक धरोहरप्रति अमेरिकाको गहिरो सम्मान झल्काउने उल्लेख गर्दै अवैध तस्करी रोकथाम, कानुनी सांस्कृतिक आदानप्रदान र भावी पुस्ताका लागि सम्पदा संरक्षणमा साझा जिम्मेवारीलाई बलियो बनाउने बताउनुभयो।
यस सम्झौताले सांस्कृतिक सहकार्यमा नयाँ अध्याय सुरु गरेको मन्त्रालयले जनाएको छ। सम्झौताले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा नेपालबाट लगिएका सांस्कृतिक वस्तुको आयातमा कडाइ गर्ने व्यवस्था गरेको छ। यसले संग्रहालय, विश्वविद्यालय तथा सांस्कृतिक संस्थालाई जिम्मेवार संरक्षण र कानुनी आदानप्रदानमा प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। नेपालका लागि यो सम्झौता अवैध रूपमा बाहिरिएका सम्पदाको संरक्षण, पुनःप्राप्ति र राष्ट्रिय पहिचानको उत्सव मनाउने महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ। दुवै देशले साझा प्रतिबद्धतालाई व्यवहारमा उतार्दै सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने र नेपालको धरोहर भावी पुस्तासम्म सुरक्षित राख्ने लक्ष्य लिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे