
काठमाडौं – नेपाल टेलिकमले आफ्ना मोबाइल नम्बर प्रयोग गर्ने ग्राहकहरूका लागि एकै पटक धेरै व्यक्तिलाई सामूहिक सन्देश पठाउन सकिने समूह सन्देश सेवा उपलब्ध गराएको छ। यो सेवामार्फत ग्राहकले एकै पटक दुई हजार, पाँच हजार र दश हजारसम्म सन्देश पठाउन सक्ने व्यवस्था गरिएको छ।
एउटै सूचना धेरै व्यक्तिसम्म छिटो र प्रभावकारी रूपमा पुर्याउनुपर्ने आवश्यकता भएका व्यक्ति तथा विभिन्न संस्थाहरूले यसअघि नै नेपाल टेलिकमको समूह सन्देश सेवा प्रयोग गर्दै आएका छन्। हालको सूचनामुखी परिवेशमा यो सेवा अझ उपयोगी बन्दै गएको टेलिकमले जनाएको छ। सूचना प्रवाह, सूचनात्मक सन्देश, सूचनात्मक अभियान तथा संस्थागत जानकारी आदानप्रदानका लागि यो सेवा प्रभावकारी माध्यमका रूपमा लिइएको छ।
शुल्क संरचनाअनुसार रु. १,२४३ मा दुई हजार सन्देश, रु. ३,१०८ मा पाँच हजार सन्देश र रु. ६,२१५ मा दश हजार सन्देश पठाउन सकिने व्यवस्था छ। यो सेवा प्रयोग गर्न प्रयोगकर्ताको नाममा दर्ता भएको कम्पनीको सिमकार्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। साथै, प्रेषित सन्देशको शब्द, भाव तथा विषयवस्तुप्रति सन्देश पठाउने व्यक्ति वा संस्था स्वयं पूर्ण रूपमा जिम्मेवार रहने व्यवस्था गरिएको छ।
समूह सन्देश सेवा प्रयोग गर्न मोबाइल, डेस्कटप वा ल्यापटपमार्फत नेपाल टेलिकमको समूह सन्देश प्रणालीमा प्रवेश गरी आवश्यक प्याकेज खरिद गर्न सकिनेछ। ग्राहकले सन्देश पठाउनुपर्ने मोबाइल नम्बरहरू सूची तयार गरी प्रणालीमा अपलोड गरेपछि एकै पटक धेरै व्यक्तिलाई सन्देश पठाउन सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे