
काठमाडौं। संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको शपथग्रहण कार्यक्रम चैत १२ गतेका लागि तय गरेको छ। सचिवालयले सार्वजनिक गरेको सूचनाअनुसार सो दिन दिउँसो २ बजे शपथ कार्यक्रम सञ्चालन हुनेछ।
शपथग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना गरिनेछ। सचिवालयले निर्वाचित सदस्यलाई कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन निर्देशन दिएको छ।
शपथका लागि उपस्थित हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको दुई प्रति पासपोर्ट आकारको फोटो अनिवार्य ल्याउनुपर्ने उल्लेख गरिएको छ।
सचिवालयले सांसदलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन आग्रह गरेको छ। साथै, नेपाली भाषाबाहेक मातृभाषामा शपथ लिन चाहने सदस्यका लागि विशेष व्यवस्था गरिएको जनाइएको छ। त्यस्ता सदस्यले शपथको पाठ आफ्नो मातृभाषामा अनुवाद गरी कार्यक्रमभन्दा तीन दिनअघि सचिवालयमा बुझाउनुपर्नेछ।
महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निर्वाचित सदस्यलाई जानकारी गराउन पनि समन्वय गरिएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे