
काठमाडौं। मिति २०८२ मंसिर ५ गते (२०२५ नोभेम्बर २१) का दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि जापानका राजदूत महामहिम माएडा तोरु बीच स्वास्थ्य क्षेत्र सम्बन्धी उच्चस्तरीय शिष्टाचार भेट सम्पन्न भएको छ।
भेटका क्रममा मन्त्री शर्माले नेपाल–जापानबीचको ऐतिहासिक कूटनीतिक मित्रता, परस्पर सहयोग र विशेषगरी भूकम्प तथा कोभिड–१९ का चुनौतीपूर्ण समयमा जापानले प्रदान गरेको सहायताप्रति आभार व्यक्त गरिन्। उनले कान्ति बाल अस्पताल, बीर अस्पताल तथा त्रिवि शिक्षण अस्पतालका पूर्वाधार विकासमा जापानले पु¥याएको योगदान नेपालको स्वास्थ्य सेवा प्रणाली सुदृढीकरणमा महत्त्वपूर्ण भएको उल्लेख गरिन्।
उहाँले मातृ तथा शिशु स्वास्थ्य सुधार, मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारिता वृद्धि, राष्ट्रिय औषधी प्रयोगशालाको परीक्षण क्षमता विस्तार तथा विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सुरक्षालाई मन्त्रालयका प्रमुख प्राथमिकतामा रहेको जानकारी गराइन्।
जापानी राजदूत माएडाले नेपाल सरकारका प्राथमिकता क्षेत्रहरूमा सहकार्य गर्न जापान तयार रहेको बताउँदै औषधि परीक्षण प्रयोगशालाको क्षमता अभिवृद्धिका लागि आवश्यक पूर्वाधार विकास, प्रवासी नेपाली श्रमिकहरूको स्वास्थ्य प्रवर्द्धन र उपचारसम्बन्धी कार्यक्रमलाई जापानले सहयोग गर्न सक्ने उल्लेख गरे।
दुवै पक्षले दीर्घकालीन स्वास्थ्य पूर्वाधार, प्रविधि आदानप्रदान तथा जनस्वास्थ्यमूलक कार्यक्रमहरूलाई रणनीतिक रूपमा अगाडि बढाउने सहमति व्यक्त गर्दै द्विपक्षीय सहयोगलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे