
काठमाडौँ । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी छन्। बुटवलकी २१ वर्षीया प्रकृति लम्साल बी टेक सिएससी तेस्रो वर्षमा अध्ययनरत थिइन्।
प्रकृति लम्साल आइतबार अपरान्ह ४ बजे विश्वविद्यालयको होस्टलको क्युसीफो बिल्डिङमा मृत अवस्थामा भेटिएकी थिइन्। कलेजका २०० भन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन्।
कलेजमा अध्ययनरत एक विद्यार्थीका अनुसार प्रकृतिको मृत्यु रहस्यमय रहेको र कलेज प्रशासनको व्यवहार शंकास्पद रहेको बताएका छन्। उनका अनुसार, मृत्युपछि कलेज प्रशासनले घटनाबारे अस्पष्ट जानकारी दिएको र घटनास्थल र शवको बारेमा विद्यार्थीलाई कुनै जानकारी नदिएको आरोप लगाइएको छ।
प्रकृतिको मृत्युपछि केही विद्यार्थीहरूले ह्वाट्सएप ग्रुपमा समाचार फैलाएका थिए कि उनलाई एक केटाले निकै दुःख दिएको थियो। सोही दिन कलेजमा कार्यक्रम आयोजना गरिएको थियो र जब विद्यार्थीहरूले मृत्युसँग सम्बन्धित समाचार सुनेपछि उनीहरूले घटनास्थलमा जाने प्रयास गरे। घटनास्थलमा पुग्दा प्रकृतिको शव देखाइएको छैन र कलेज प्रशासनले उनलाई विश्वविद्यालयकै अस्पतालमा लगेर मृत घोषण गरिदिएको थियो।
नेपाली विद्यार्थीहरू प्रशासनसँग जवाफ माग्ने क्रममा कलेज प्रशासनले आफ्नो अनियमिततामा ढाकछोप गर्ने प्रयास गरेको र मुद्दाको अन्वेषणमा गम्भीर ध्यान नदिएको आरोप लगाएका छन्।
यहि बीच, नेपाली विद्यार्थीहरूले इन्फो सिटी प्रहरीमा उजुरी दर्ता गरेका थिए र कलेजको ग्राउण्डमा प्रदर्शन गर्न थालेका थिए। प्रदर्शनपछि कलेजका भाइस चान्सलरले विद्यार्थीहरूलाई धम्की दिएको र उनीहरूलाई कलेजबाट निकाल्ने धम्की दिइएको विद्यार्थीको भनाइ छ।
कलेज प्रशासनको दबाबपछि, करिब २०० नेपाली विद्यार्थीहरूलाई होस्टलबाट जबरजस्ती निकालिएको र विभिन्न रेल्वे स्टेशन र बसपार्कहरूमा छोडिएको पुष्टि भएको छ। एक विद्यार्थीका अनुसार, होस्टलबाट निकाल्ने क्रममा गाली गरियो, कुटपिट गरिएको र उनीहरूको मोबाइल खोसेर फोटो र भिडियोहरू मेटाइएका थिए।
प्रकृतिको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारको बारेमा भारतस्थित नेपाली दूतावासलाई पनि जानकारी गराइएको थियो, तर दूतावासबाट कुनै सहयोग प्राप्त नभएको आरोप नेपाली विद्यार्थीहरूले गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे