
काठमाडौँ। सरकारले सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रभावकारी बनाउन अर्थ मन्त्रालय अन्तर्गत गुनासो व्यवस्थापन प्रणालीलाई अझ सशक्त बनाएको छ। यसअन्तर्गत सेवा लिँदाक्रममा अनावश्यक ढिलासुस्ती, अनुचित कार्य वा भ्रष्टाचारसम्बन्धी गतिविधिबारे नागरिकले अब सजिलै उजुरी दिन सक्ने व्यवस्था गरिएको छ।
अर्थ मन्त्रालयका अनुसार, नियामक निकाय, विभाग, कार्यालय तथा बैंक तथा वित्तीय संस्थाबाट सेवाग्राहीले पाउनुपर्ने सेवा समयमा नपाएको, नगर्नुपर्ने कार्य गरिएको वा कुनै पनि प्रकारको घुस तथा रिसवत माग गरिएको अवस्थामा सिधै गुनासो गर्न सकिन्छ।
यसका लागि मन्त्रालयले दुईवटा ईमेल ठेगाना – [email protected] र [email protected] – उपलब्ध गराएको छ। साथै, हटलाइन (टोलफ्री) नम्बर १८१०५०००४१० मार्फत पनि उजुरी दिन सकिने व्यवस्था गरिएको छ।
गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयले जिम्मेवार अधिकारी पनि तोकेको छ। यसअनुसार, सम्पर्क व्यक्तिमा उपसचिव श्री निरन भट्टराई (सम्पर्क नम्बर: ९८५१४०५२६५) र शाखा अधिकृत श्री पवित्रा ज्ञवाली (सम्पर्क नम्बर: ९८५१४०५२७५) रहेका छन्।
अर्थ मन्त्रालयले यस प्रणालीमार्फत आम नागरिकले सेवाप्रवाहमा अनुभव गर्ने कठिनाईलाई तत्काल सम्बोधन गर्ने र पारदर्शी तथा उत्तरदायी शासन प्रणालीलाई सुदृढ गर्ने अपेक्षा राखेको छ। मन्त्रालयले सबै सेवाग्राहीलाई आफूले पाउने सेवामा अवरोध वा समस्या देखिए तत्काल उजुरी गर्न आग्रह समेत गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे