
काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रसँग सम्बन्धित समस्याहरूको चाँडो समाधान गरेर, सहकारीप्रति फैलिएको नकारात्मक भ्रमलाई चिर्न आवश्यक रहेको बताएका छन्।
मन्त्री अधिकारीले मंगलबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय सहरी सुशासन प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्दै, सहकारीको छवि सुधार्न र यस क्षेत्रको सकारात्मक पक्षलाई उजागर गर्न सबैलाई क्रियाशील हुने आह्वान गरेका थिए। उनले भने, “सहकारीप्रति फैलिएको भ्रमलाई छिटो चिरेर सहकारी ठीक छ भन्ने सन्देश दिन सक्छौं। जति चाँडो हामी यसतर्फ लाग्न सक्छौं, त्यति छिटो समाधान हुनेछ भन्ने मेरो विश्वास छ।”
मन्त्री अधिकारीले थपे, सरकारले सहकारीका अप्ठ्यारा परिस्थितिहरू र कानूनी अडचनहरूलाई सच्याउने काम गर्दैछ। उनले आगामी पौष २८ गते केही बचतकर्ताहरूको बचत फिर्ता गर्ने व्यवस्था मिलाइएको जानकारी दिए र भने, “अब चाँडै सहकारी पीडित सबैको समस्या समाधान गर्ने तयारी छ।”
मन्त्री अधिकारीले प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सहकारी क्षेत्रका चुनौती र समस्याहरू समाधान गर्नको लागि एक महत्वपूर्ण कदमको रूपमा हेरिएको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे