
झापा ।मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यातमा ६९.२२ प्रतिशतको वृद्धि भएको जनाएको छ। कार्यालयका अनुसार, साउनदेखि कात्तिकसम्मको चार महिनामा ८,०६२.१६ मेट्रिकटन चिया निर्यात गरिएको हो।
निर्यातको मात्रासँगै चिया निर्यातको मूल्य पनि ६७.८७ प्रतिशतले बढेको छ। मेची भन्सारका सूचना अधिकारी गणपति कँडेलका अनुसार, चालु आर्थिक वर्षको पहिलो चार महिनामा २ अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको चिया निर्यात गरिएको छ। गत वर्षको सोही अवधिमा भने १ अर्ब ३१ करोड ३४ लाख ३६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो।
तर, चिया बाहेकका कृषि उत्पादनहरूको निर्यातमा कमी आएको छ। कार्यालयका तथ्याङ्कअनुसार, चालु आवको पहिलो चौमासिकमा अलैँची, अम्रिसो, छुर्पी, अदुवा, काउली, बन्दागोपी, र ब्रोकाउलीको निर्यात घटेको देखिएको छ। गत आवको सोही अवधिको तुलनामा अलैँची ११.८७ प्रतिशत, अम्रिसो ११.६६ प्रतिशत, छुर्पी ४१.४५ प्रतिशत, र काउली, बन्दागोपी तथा ब्रोकाउलीको निर्यात २७.९८ प्रतिशतले घटेको कँडेलले बताए।
त्यसैगरी, भेनियर सिट र प्लाइवुडको निर्यातमा भने वृद्धि भएको छ। भेनियर सिटको निर्यात २४१.९४ प्रतिशत र प्लाइवुडको निर्यात २९.६३ प्रतिशतले बढेको छ।
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनासम्म ४ अर्ब ७२ करोड ७ लाख २३ हजार रुपैयाँको राजस्व सङ्कलन गरेको जनाएको छ, जुन कार्यालयको वार्षिक लक्ष्यको २७.२२ प्रतिशत हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे