
काठमाडौँ । माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। यस दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ र यही दिनदेखि उत्तरायण सुरु हुन्छ। उत्तरायण सुरु भएपछि दिन बिस्तारै लामो र रात छोटो हुँदै जान्छ।
धार्मिक विश्वासअनुसार उत्तरायणको पहिलो दिन स्नान, पूजा, जप, ध्यान र दान गर्नाले ठूलो पुण्य मिल्छ। त्यसैले माघ १ गते देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी र रिडी जस्ता तीर्थस्थलमा स्नान गर्न भक्तजनको ठूलो भीड लाग्छ। यी स्थानमा विशेष मेला पनि लाग्ने गर्छ। तराई क्षेत्रमा यो दिनलाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाइन्छ। वर्षभर नुहाउन सहज नहुने मानिसले पनि आजको दिन अनिवार्य नुहाउने चलन छ।
आज बिहानै तीर्थमा गएर स्नान गरी तिल दान गरे धेरै पुण्य मिल्ने विश्वास छ। उत्तरायण सुरु भएपछि शुभ काम गर्न राम्रो मानिन्छ। माघे सङ्क्रान्तिमा घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो र खिचडी खाने चलन छ। यी खानेकुराले जाडोमा शरीर न्यानो राख्ने र स्वास्थ्यका लागि फाइदा गर्ने आयुर्वेदको भनाइ छ।
कतिपय ठाउँमा पुसको अन्तिम दिन पकाएको तरुल माघमा खाने चलन छ। आज तिलको तेलले मालिस गर्दा शरीर स्वस्थ हुने विश्वास गरिन्छ। भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि आज मेला लाग्छ। माघ महिनामा स्वस्थानी व्रतको विशेष महत्व रहन्छ। साथै माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाइन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे