
काठमाडौं। काठमाडौँ महानगरपालिकाले परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा हानीकारक अस्पतालजन्य फोहर व्यवस्थापनका लागि प्रशोधन केन्द्र स्थापना गर्न दुई करोड रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ। यससम्बन्धी सम्झौता महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ को उपस्थितिमा सम्पन्न भएको हो।
स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. र अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीबीच भएको सम्झौताअनुसार अस्पतालबाट उत्पादन हुने हानीकारक फोहरसँगै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्धन केन्द्रबाट निस्कने फोहरसमेत सोही प्रशोधन केन्द्रमार्फत व्यवस्थापन गरिनेछ।
अनुदानस्वरूप प्राप्त रकम अस्पतालले आवश्यक उपकरण खरिद तथा फोहर व्यवस्थापन स्थलमा संरचना निर्माणका लागि खर्च गर्न पाउनेछ। सम्झौता चालु आर्थिक वर्षको असार १५ गतेसम्म लागू रहने जनाइएको छ।
सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले काठमाडौँमा हानीकारक फोहर व्यवस्थापनका लागि उपयुक्त स्थान अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्डअनुसार प्रशोधन केन्द्र सञ्चालन गरी समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार यस सहकार्यले अस्पताल र महानगरपालिका दुवैलाई लाभ पुग्ने विश्वास छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे