
काठमाडौँ । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवसम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको छ।
महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार, कर्णालीका लुकेका कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्यले ‘गन्तव्य कर्णाली’ अभियान अघि बढाइएको हो। उनले बताए अनुसार, चलचित्र निर्माणका लागि उत्कृष्ट कथाहरूको आह्वान गरिएको छ। चयनित कथालाई वैशाखमा सम्मान गरिने र सम्भव भए चलचित्रमा रूपान्तरण पनि गरिनेछ।
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तन सम्बन्धी सन्देश प्रवाह गर्नु महोत्सवको अर्को प्रमुख उद्देश्य रहेको उनले उल्लेख गरे। वन तथा वातावरण मन्त्री माधव चौलागाईंले भने, “कला छोटो समयमा मानिसको सोच परिवर्तन गर्ने शक्तिशाली माध्यम हो। कर्णालीको मौलिक कथाका लागि यो उत्कृष्ट ‘हटस्पट’ हो।”
अभिनेता प्रदीप खड्काले कर्णालीलाई गौरवको दृष्टिले हेर्नुपर्नेमा जोड दिँदै भने, “कर्णाली हाम्रो भाषा, साहित्य, कला र संस्कृतिको उद्गमस्थल हो। नेपाली चलचित्र ढिला सुरु भए पनि मौलिकतामा हामी पछि छैनौँ। यदि नेपाली चलचित्रलाई नयाँ उचाइमा पुर्याउनुछ भने यसको केन्द्र कर्णाली हुन सक्छ।”
पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले महोत्सव जस्ता कार्यक्रमले नीतिगत तहमा सकारात्मक बहस सिर्जना गर्ने विश्वास व्यक्त गरे। उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष तथा महोत्सवकी संरक्षक भवानी राणाले महोत्सवले कर्णालीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने आशा व्यक्त गरिन्। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले भने, “फिल्म पर्यटनको प्रभाव प्रत्यक्ष रूपमा मापन गर्न सकिन्न, तर चलचित्रमा देखाइएका दृश्यहरूले पर्यटकलाई स्वाभाविक रूपमा आकर्षित गर्छ।”
महोत्सव चार चरणमा सञ्चालन हुने आयोजकले जानकारी दिए। सुर्खेतमा तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव वैशाख ४ मा हुनेछ। त्यसपछिका कार्यक्रमहरूमा गुराँस चलचित्र पर्यटन संवाद वैशाख ५, कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड काठमाडौं वैशाख २६, र जुम्ला तातोपानी पर्यटन चलचित्र जलवायु समिट जेठ २७ मा आयोजना गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे