
काठमाडौं, वैशाख ४ – अनुभवी पर्वतारोही कामीरिता शेर्पा ३१ औँ पटक सगरमाथा आरोहणको तयारीमा छन्। ३० पटक सफलतापूर्वक सर्वोच्च शिखर चुमिसकेका कामीरिता यसपटक पुनः कीर्तिमान तोड्दै नयाँ इतिहास बनाउने लक्ष्यसहित आधार शिविरतर्फ प्रस्थान गरिसकेका छन्। सन् १९९४ मा पहिलोपटक सगरमाथा चढेका उनी हालसम्म विश्वमै सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने एक मात्र आरोही हुन्।
कामीरिता भन्छन्, “सगरमाथा चढ्नु कीर्तिमानको लागि होइन, यो मेरो पेशा हो।” हिमाल आरोहणको जोखिम र संवेदनशीलतालाई ध्यान दिँदै उनले राज्यले आरोहीहरूको सामाजिक सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। साथै, उनले जलवायु परिवर्तनका कारण हिमालको स्वरूपमा देखिएको परिवर्तनप्रति चिन्ता व्यक्त गरेका छन्।
यो वसन्त सिजनमा मात्रै ५८ महिला र २५३ पुरुषसहित ३११ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। आरोहणमार्फत सरकारलाई करिब ५२ करोड रुपैयाँ रोयल्टी प्राप्त भएको छ। विभागका अनुसार खुम्बु आइसफल हुँदै चुचुरोसम्मको बाटो निर्माण भइरहेको छ।
कामीरिता शेर्पाले रेकर्डका लागि होइन, निरन्तर अभ्यासका कारण कीर्तिमान बनिरहेको स्पष्ट पारेका छन्। उनले वीरता र अनुभवसँगै हिमाल सफाइ तथा संरक्षणमा पनि राज्यको सक्रियता आवश्यक रहेको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे