
लुम्बिनी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पाँच दिने राजनीतिक कार्यक्रमसहित लुम्बिनी प्रदेश पुगेका छन्। जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानलाई प्रभावकारी बनाउन अध्यक्ष यादव पुस १५ गतेदेखि १९ गतेसम्मका कार्यतालिकासहित लुम्बिनी प्रदेश भ्रमणमा रहेको पार्टीको प्रचार विभागले जानकारी दिएको छ।
अध्यक्ष यादवले सोमबार नवलपरासीमा आयोजित कार्यक्रममा सहभागी भई रामग्रामस्थित हुकईमा संगठन निर्माण अभियानअन्तर्गत सभा सम्बोधन गरेका थिए।
मङ्गलबार परासीको बहुमुखी क्याम्पसमा जिल्ला कार्यसमिति र भ्रातृसंगठनका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको जनाइएको छ। जसपाले पुस १७ गते बाँके जिल्लाको नेपालगञ्जस्थित जिल्ला समन्वय समितिको सभाहलमा जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानसम्बन्धी कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा अध्यक्ष यादवले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने बताइएको छ।
पार्टीले पुस १८ गते बाँकेको नरैनापुर गाउँपालिकामा र पुस १९ गते बर्दियाको गुलरियामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गर्नेछ। यी कार्यक्रमहरूमा अध्यक्ष यादवको सहभागिता रहने पार्टी स्रोतले जनाएको छ।
पार्टीको संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्दै अध्यक्ष यादवले लुम्बिनी प्रदेशको भ्रमणलाई प्रभावकारी बनाउन विभिन्न जिल्लाका स्थानीय तहमा सक्रिय कार्यक्रमहरू सञ्चालन गरिरहेको प्रचार विभागले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे