
काठमाडौँ, १५ वैशाख — नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकहरूमाथि सरकारले दमन गरेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले सरकारले शिक्षकका जायज मागहरू सुनुवाइ गर्नुको सट्टा दमनमा उत्रिएकोप्रति आक्रोश व्यक्त गरे।
उनले भने, “शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ, तर सरकारले हिजो शान्तिपूर्ण आन्दोलनमा पानीको फोहोरा, अश्रुग्यास, लाठ्ठी प्रहार गरेर दर्जनौं शिक्षक घाइते बनायो। पत्रकार सविना कार्कीसमेत गम्भीर घाइते हुनुभयो।”
शर्माले यस्तो दमनप्रति भर्त्सना गर्दै खेद प्रकट गरे। उनले शिक्षा ऐन र पाठ्यक्रम समयानुकूल नबदलिएकोप्रति पनि सरकारको आलोचना गरे। उनका अनुसार संविधान निर्माणपश्चात् संघीयताको अनुसार नयाँ शिक्षा ऐन ल्याइनु आवश्यक थियो, तर पुराना ऐन र कानुनहरूले नै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा अवरोध पुर्याइरहेका छन्।
शर्माले शिक्षाको सन्दर्भमा राज्यले नै नयाँ कानुन बनाएर दिनुपर्ने जिम्मेवारी पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै भने, “आज शिक्षकहरू हामीलाई ऐन देऊ भनेर माग गरिरहेका छन्, तर सरकार भने मुकदर्शक बनेर बसेको छ।” उनले शिक्षकहरूको माग सम्बोधन गरेर न्यायोचित मागहरू पूरा गर्न सरकारलाई आग्रह गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे