
काठमाडौँ, २७ वैशाख — पछिल्लो समय भारत–पाकिस्तानबीचको तनावलाई ध्यानमा राख्दै नेपाल–भारत सीमामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। दुबै देशबीच खुला सिमा भएकाले सम्भावित सुरक्षा जोखिम रोक्न नेपाल सरकारले अब सीमाबाट ओहोरदोहोर गर्ने व्यक्तिका लागि परिचयपत्र अनिवार्य गरेको हो।
सुरक्षा निकायहरूले सबै नाका र सीमावर्ती क्षेत्रमा चेकजाँच कडा बनाएका छन्। अब सीमा पार गर्न नेपाली नागरिकले नागरिकता, राहदानी, वा सरकारी परिचयपत्र देखाउनुपर्नेछ भने भारतीय नागरिकले पनि मान्य कागजात देखाउनुपर्नेछ। यस कदमबाट अवैध गतिविधि, आपराधिक तस्करी र आतंककारी गतिविधि रोक्ने लक्ष्य लिइएको बताइएको छ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय प्रशासनले सीमामा सयुक्त गस्ती बढाएका छन्। विशेष गरी संवेदनशील नाकाहरू जस्तै काँकडभिट्टा, वीरगञ्ज, भैरहवा र नेपालगञ्जमा निगरानी अझ कडा गरिएको छ।
सुरक्षा निकायले सर्वसाधारणलाई झन्झट नहोस् भन्नका लागि आवश्यक सहजीकरण गरिने जनाएको छ। तर, बिना कागजात सीमा पार गर्ने प्रयास गरेमा कारबाही गरिने चेतावनी पनि दिइएको छ। सरकारले जनताको सुरक्षालाई प्राथमिकता दिँदै यो निर्णय गरेको जनाएको छ। आम नागरिकलाई सतर्क रहन र कानुनी प्रक्रिया अनुसार यात्रा गर्न अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे