
काठमाडौँ — सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ। आजको बैठकको सम्भावित कार्यसूचीअनुसार, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव वक्तव्यसहित प्रस्तुत गर्ने छन्। उक्त प्रस्तावमाथि सांसदहरूबीच छलफल हुने कार्यक्रम छ।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।
तर, पछिल्ला केही दिनदेखि प्रमुख प्रतिपक्षी दलसहित अन्य विपक्षी दलहरूको निरन्तर अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। भिजिट भिसा प्रकरणमा अनियमितता भएको भन्दै उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। यही कारण आजको बैठकमा पनि कार्यसूची अघि बढ्न सक्ने अनिश्चितता रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे