
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण प्रक्रिया तीव्र बनाएको छ। मन्त्रिपरिषद्ले मंसिर २२ गते स्वीकृत गरेको कार्यविधिका आधारमा घाइतेको अपाङ्गताको अवस्था तथा गम्भीरताको मूल्यांकन गर्दै आर्थिक सहायता र जीवन निर्वाह सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका अनुसार जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरण जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गरिनेछ भने सो सिफारिसको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणिकरण गर्ने व्यवस्था गरिएको छ।
कार्यविधिअनुसार स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ। उक्त समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चार तहमा वर्गीकरण गर्नेछ। वर्गीकरण गर्दा घाइतेको शारीरिक अवस्था, अपाङ्गताको स्तर तथा दीर्घकालीन प्रभावलाई आधार बनाइने बताइएको छ।
गृह मन्त्रालयका अनुसार गम्भीर घाइतेले मासिक ९ हजार रुपैयाँ र अतिगम्भीर घाइतेले जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, मध्यम प्रकृतिका घाइतेलाई मासिक ४ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने व्यवस्था कार्यविधिमा गरिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशन र सक्रियतामा जेनजी प्रदर्शनका घाइतेहरूलाई जनभावनाअनुरूप सहयोग पुर्याउन सम्बन्धित निकायलाई वर्गीकरण प्रक्रिया शीघ्र सम्पन्न गर्न निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सोही निर्देशनअनुसार वर्गीकरण सहजीकरण समितिले आवश्यक प्रक्रिया अघि बढाइरहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे