
काठमाडौँ , १५ माघ । पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार र आन्दोलनको विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले मंगलबार साँझ ५ बजे यहाँका तीन जना सांसदलाई गृह मन्त्रालय बोलाएका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलाई मन्त्री लेखकले बोलाएका हुन् । ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् ।
पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । शनिबार बेलुकी प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । गोली लागेर यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाइते भएका हुन् । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका चार जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे