
काठमाडौं — उपभोक्ता अदालतले स्वास्थ्य सेवामा लापरवाहीका कारण बिरामीको ज्यान गएको मुद्दामा हालसम्मकै सबैभन्दा ठूलो क्षतिपूर्तिको आदेश दिएको छ। न्यायाधीश रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोख्रेलको संयुक्त इजलासले हिमाल हस्पिटल प्रालि र त्यहाँ कार्यरत डाक्टर जयदेव यादवलाई संयुक्त रूपमा १ करोड ४५ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको हो।
अदालतका श्रेस्तेदार शोभाकर खरेलका अनुसार कुल क्षतिपूर्तिको ७० प्रतिशत अर्थात १ करोड १ लाख ८० हजार रुपियाँ हिमाल हस्पिटलले तिर्नुपर्नेछ भने बाँकी ३० प्रतिशत अर्थात ४३ लाख ६३ हजार रुपियाँ डाक्टर यादवले बेहोर्नुपर्नेछ।
मुद्दा १८ महिनाकी बालिकाको मृत्युसँग सम्बन्धित छ। पीडित गंगा गौतमले २०८० माघ २३ गते हल्का ज्वरो र रुघाखोकी लागेपछि छोरीलाई उपचारका लागि हिमाल हस्पिटल लगेका थिए। तर, चिकित्सकले पर्याप्त जाँचबुझ नगरी सामान्य औषधि दिएर पठाएका थिए।
गौतमले अदालतमा पेश गरेको निवेदनमा उल्लेख भएअनुसार, पटक–पटक अस्पताल गइकन समेत एक्स–रे र ब्लड टेस्ट नगरी बाफ लगाउन मात्र सुझाव दिइएको थियो। स्वास्थ्य झनझन बिग्रिँदै गएपछि माघ २६ गते पुनः अस्पताल लिइँदा फोक्सोमा पानी जमेको रिपोर्ट आयो तर अस्पतालमा आवश्यक सुविधा नभएको भन्दै स्टेबल अवस्थामा नपुगेकै अवस्थामा कान्ति बाल अस्पताल र पछि मेट्रो अस्पतालमा रिफर गरिएको थियो।
तर, समयमै उचित उपचार नपाउँदा बालिकाको सोही दिन साँझ मृत्यु भएको थियो।
यसपछि गंगा गौतम र उनकी श्रीमतीले जिल्ला अदालत काठमाडौंमा १ करोड ९५ लाख रुपियाँ क्षतिपूर्तिको माग राख्दै मुद्दा दायर गरेका थिए। उपभोक्ता अदालत गठन भइसकेपछि उक्त मुद्दा उपभोक्ता अदालतमा सरुवा भएको थियो।
अदालतले यो मुद्दालाई गम्भीर लापरवाहीका रूपमा व्याख्या गर्दै दोषी संस्थालाई ठूलो आर्थिक दण्डसहितको फैसला गरेको हो। यसले चिकित्सा क्षेत्रको उत्तरदायित्व र पारदर्शिता प्रतिको अपेक्षालाई थप सशक्त बनाएको कानूनी विज्ञहरूले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे