
काठमाडौँ । समग्र अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको समयमा आर्थिक वर्ष २०८१/८२ मा नेपाल धितोपत्र बजारले भने उत्साहजनक प्रगति गर्दै दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार, यो वर्ष धितोपत्र कारोबार मूल्य अघिल्लो वर्षको तुलनामा झण्डै दुई गुणाले बढेको छ।
वित्तीय वर्ष २०८०/८१ मा कुल ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा २०८१/८२ मा सो मात्रा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ पुगेको हो। कारोबारमा १८९.२३ प्रतिशतको वृद्धिदर देखिएको छ। यसअघि २०७७/७८ मा कायम भएको १४ खर्ब ५४ अर्ब ४४ करोडको अघिल्लो रेकर्डलाई समेत यो वर्षको कारोबारले उछिनेको छ।
बजार पूँजीकरणमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको पूँजीकरण ३१.०५ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तसम्म ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको हो। सो अवधिसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ। मर्जर तथा अधिग्रहण (M&A) प्रक्रियाका कारण तीन कम्पनी सूचीकरणबाट हटेका छन्।
समीक्षा अवधिमा प्राथमिक सार्वजनिक निष्कासन (IPO) मार्फत चार कम्पनी सूचीकृत भएका छन्। यस आर्थिक वर्षमा पहिलो पटक सूचीकृत भएको कुल धितोपत्रको संख्या ८० करोड ४२ लाख ८५ हजार कित्ता पुगेको छ। यसमा तीन करोड ६५ लाख कित्ता सेयर पहिलो निष्कासनबाट, ११ लाख २० हजार कित्ता थप निष्कासनबाट, चार करोड ३२ लाख ५८ हजार कित्ता सरकार तथा स्थानीय तहलाई वितरण गरिएका सेयर, ३७ करोड ८१ लाख कित्ता सामूहिक लगानी कोषका इकाइ तथा ८३ लाख कित्ता संस्थागत ऋणपत्र समावेश छन्।
नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा भएको यस ऐतिहासिक प्रगतिको लागि नेप्सेले नेपाल सरकार, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नियामक निकाय, कारोबार सदस्य, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी, सीडीएस एण्ड क्लियरिङ लिमिटेड, सञ्चारकर्मी तथा लगानीकर्तालगायत समस्त सरोकारवालाप्रति आभार प्रकट गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे