
काठमाडौँ। नेपाली शिक्षा परामर्श क्षेत्रमा अलग पहिचान बनाउँदै आएको बिज एजुकेशनले राष्ट्रिय क्रिकेटर हेमन्त धामीलाई आफ्नो आधिकारिक क्रिकेट ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्ध गरेको छ। आज जर्मन होम्स हस्पिटालिटी, गुट्ठाघरमा आयोजित औपचारिक घोषणा तथा सम्झौता हस्ताक्षर कार्यक्रममा उक्त सहकार्यलाई सार्वजनिक गरिएको हो। सम्झौता प्रारम्भमा तीन वर्षको लागि गरिएको भए पनि प्रत्येक वर्ष आपसी सहमतिमा पुनःसम्झौता गर्ने व्यवस्था रहेको बताइएको छ।
बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले कार्यक्रममा बोल्दै संस्थाको मूल उद्देश्य स्पष्ट पार्नुभयो। उहाँका अनुसार, बिज एजुकेशन केवल बेलायती विश्वविद्यालयको प्रवर्द्धनमा मात्र सीमित नभई नेपाली विद्यार्थीलाई शैक्षिक, मानसिक र आर्थिक रूपमा तयार पार्ने जिम्मेवारी पनि लिने संस्था हो। उहाँले विद्यार्थीहरूलाई विदेश जान दबाब नदिइने र नेपालमै गुणस्तरीय विश्वविद्यालय उपलब्ध भएको अवस्थामा नेपालमै अध्ययन गर्न सुझाव दिइने जानकारी दिनुभयो।
कार्यक्रममा हेमन्त धामीले आफूलाई ब्रान्ड एम्बेसडरको रूपमा चयन गरिएकोमा खुशी व्यक्त गर्दै शिक्षा, खेलकुद र युवाको समग्र विकासमा योगदान गर्ने संस्थासँग आबद्ध हुनु गर्वको विषय भएको बताए। उनले खेल र अध्ययनलाई सँगसँगै अघि बढाउने सन्देश युवामाझ पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
हरि कार्कीले खेलकुदले अनुशासन, नेतृत्व, धैर्यता र आत्मविश्वास विकास गर्ने उल्लेख गर्दै यी गुणहरू शिक्षा र जीवनमा सफल हुन आवश्यक रहेको बताए। यसै क्रममा, बिज एजुकेशनले खेल, कला र शिक्षालाई एउटै प्लेटफर्ममा जोड्दै आएको र भविष्यमा पनि जिम्मेवार शिक्षा परामर्श, वित्तीय योजना र प्रतिभा प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएको छ।
यसअघि बिज एजुकेशनले हास्य तथा फिल्म क्षेत्रका जितु नेपाल (मुन्द्रे), फुटबल क्षेत्रका पूर्व राष्ट्रिय कप्तान उपेन्द्र मान सिंह, र ब्याडमिन्टन खेलाडी स्वोरलिन श्रेष्ठलाई ब्रान्ड एम्बेसडरका रूपमा प्रस्तुत गरिसकेको थियो। क्रिकेट क्षेत्रमा हेमन्त धामीको आगमनसँगै संस्थाले खेलकुद, सिर्जनात्मकता र शिक्षा तीनै क्षेत्रमा युवाको सर्वाङ्गीण विकासमा जोड दिएको देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे