
काठमाडौं । देशभर लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण ४० सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन् भने २ सडक खण्ड अझै पूर्णरूपमा अवरुद्ध छन्। सडक विभागका अनुसार ३५ सडक खण्ड दुईतर्फी सञ्चालन भएका छन्।
विभागले बाढीपहिरोले अवरुद्ध सडक खण्डहरू सुचारु गर्न ८ स्थानमा २७७ वटा साना–ठूला उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ।
प्रमुख प्रभावित क्षेत्रहरू
सबैभन्दा बढी प्रभावित सडक खण्डहरूमा काठमाडौं–धुलिखेल–दोलालघाट–कोदारी (अरनिको राजमार्ग) अन्तर्गत सिन्धुपाल्चोकको लार्चा र कोदारी खण्ड रहेका छन्, जहाँ हालसम्म सवारी आवागमन पूर्णरूपमा रोकिएको छ। त्यसैगरी तानसेन–रिडी–कोरला राजमार्ग अन्तर्गत म्याग्दीको रुप्से खण्ड र गुल्मीको राक्स्या, बागलुङको माझाबगर, कुइधान लगायतका स्थानमा पनि पहिरो पन्छाएर सवारीसाधन एकतर्फी सञ्चालनमा ल्याइएको विभागले जनाएको छ।
चितवनको विनयी खोलो, नवलपुरको नियी खोलो, ललितपुरको बलुवावास, अर्घाखाँचीको घुम्ती लगायतका स्थानहरूमा पनि पहिरो पन्छाएर यातायात आंशिक रूपमा सुचारु गरिएको छ।
तत्काल उद्धारको तयारी
विभागका प्रवक्ता प्रभात झाका अनुसार, वर्षाका कारण थप बाढी र पहिरो आउन सक्ने सम्भावना रहेकाले अत्यधिक जोखिम भएका राष्ट्रिय तथा प्रमुख राजमार्गमा विशेष सतर्कता अपनाइएको छ।
“बाढी र पहिरोका कारण तत्काल अवरुद्ध हुने सम्भावित सडकहरू खुलाउन हामीले ८ स्थानमा २७७ यन्त्रहरू तयारी अवस्थामा राखेका छौं,” झाले बताए।
उपकरण तथा जनशक्ति विवरण
सडक विभागका अनुसार उपकरणहरूको वितरण यसप्रकार छ:
काठमाडौं: ५३
इटहरी: ४२
जनकपुर: ३३
हेटौडा: २५
पोखरा: ३५
बुटवल: २४
नेपालगञ्ज: ३३
गोदावरी: ३२
त्यसैगरी उपकरण विवरणमा ६३ व्याकहोइ लोडर, ३६ ट्रयाक एक्साभेटर, ७१ व्हील लोडर, ४५ टिपर ट्रक, ८ ट्रेलर, १५ ट्रान्सपोर्टर लगायतका यन्त्र तयारी अवस्थामा राखिएका छन्।
१३ करोडको आकस्मिक बजेट
सडक खुलाउन र तत्काल उद्धार तथा पुनःस्थापना कार्य गर्नका लागि सरकारले चालू आर्थिक वर्षमा १३ करोड रुपैयाँ आकस्मिक बजेट विनियोजन गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे