
काठमाडौं, जेठ –फेसबुकमा ‘अलविदा’ भन्दै स्टाटस लेखेर सम्पर्कविहीन बनेका चिकित्सक डा. केशव श्रेष्ठ सकुशल फेला परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा फेला पारेको हो।
प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीका अनुसार डा. श्रेष्ठलाई बालाजुमा फेला पारी थप बुझाइका लागि भद्रकालीस्थित प्रहरी कार्यालयमा ल्याइएको छ।
डा. श्रेष्ठ गत जेठ मसान्तमा रामेछाप जिल्ला अस्पतालबाट बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत हेटौंडा सरुवा भएका थिए। सरुवापछि सामाजिक सञ्जाल फेसबुकमा लामो गुनासोपूर्ण स्टाटस लेख्दै उनी सम्पर्कविहीन भएका थिए। त्यसपछि प्रहरी प्रशासनले उनको खोजी तीव्र बनाएको थियो।
फेसबुक स्टाटसमा उनले आफ्नो सरुवालाई झुटो आरोप, राजनीतिक चलखेल र व्यक्तिगत प्रतिशोधको परिणाम भएको बताएका छन्। करिब २५ महिनाको सेवाकालमा १८ महिना रामेछाप अस्पतालका प्रमुखका रूपमा काम गरेका डा. श्रेष्ठले अस्पताल सुधारको क्रममा आफू विभिन्न षड्यन्त्रमा पर्नु परेको उल्लेख गरेका छन्।
उनका अनुसार कर्मचारी प्रशासनको अनियमितता हटाउन खोज्दा केही कर्मचारी समूह र स्थानीय नेताहरू असन्तुष्ट बनेका थिए। ‘काम नगर्ने र अस्पताललाई निजी सम्पत्ति ठान्ने केही कर्मचारी र नेताहरूले मलाई बदनाम गर्न र मानसिक दबाब दिन थाले,’ डा. श्रेष्ठले फेसबुकमा लेखेका छन्।
सुधारको क्रममा उनले करारमा रहेका केही कर्मचारीलाई स्पष्टीकरण सोधेका थिए, जसपछि उनीमाथि प्रतिशोधात्मक व्यवहार थालिएको उनको दाबी छ।
फेसबुकमा उनले रामेछापका एक स्थानीय नेता केदार कार्कीको दबाबमा अस्पताल चलाउनुपर्ने, होटलका बिल तिर्नुपर्ने जस्ता अनुचित मागहरू आएको उल्लेख गरेका छन्। ती माग अस्वीकार गरेपछि ‘३ दिनभित्र तेरो सरुवा नगराएँ भने मेरो नाम केदार होइन’ भन्दै कार्यकक्षमै धम्कीसमेत दिएको बताएका छन्।
छानबिन समितिको अनुसन्धान जारी रहँदै गर्दा आफूलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको भन्दै उनले प्रक्रिया प्रतिको असन्तुष्टि व्यक्त गरेका छन्।
हेटौंडा पुगेपछि पनि कुनै स्पष्ट स्पष्टीकरण नदिई जबरजस्ती पुनः रामेछाप फर्काइएको आरोप डा. श्रेष्ठले लगाएका छन्। स्वास्थ्य अवस्था पनि खराब रहेको भन्दै उनले १६ वटा टाँका लागेको शरीर, श्रीमती र दुई वर्षीया छोरी लिएर राति रामेछापबाट काठमाडौं आउनु परेको बताएका छन्।
मानसिक तनाव चरममा पुगेपछि आत्महत्या प्रयाससमेत गरेको खुलासा गर्दै डा. श्रेष्ठले भनेका छन्, ‘आफ्नो मेहनतबाट अस्पताल सुधार गर्दा पुरस्कार पाउनु पर्नेमा उल्टै कारबाही खेप्नुपर्यो। नेपालमै केही गर्छु भन्ने सपना देखेको थिएँ, अहिले पश्चाताप भइरहेको छ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे