
ताप्लेजुङ — शेर्पा समुदायले आफ्नो प्रमुख पर्व ग्याल्पो ल्होसार उल्लासपूर्वक मनाइरहेका छन्। हिमाली भेगका शेर्पा परिवारहरू आआफ्ना गाउँघर तथा आफन्तहरू भएको स्थानमा पुगेर पारम्परिक विधिअनुसार नयाँ वर्ष मनाउन व्यस्त छन्।
मिक्वाखोला गाउँपालिका–५, पापुङका तेन्जिङ शेर्पा राजधानी काठमाडौँमा परिवारसँग ल्होसार मनाउन गएका छन्। उनका परिवार केही महिनाअघि मात्र पापुङबाट काठमाडौँ सरेका थिए।
स्थानीय कञ्चन शेर्पाले भने बिहीबार बिहानदेखि नै ल्होसारका लागि आवश्यक तयारी गर्दै घर तथा पूजा कोठा सजाएकी छन्। यसैगरी, मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष डण्डु लामा आफ्नो परिवारसँग पर्व मनाउन सदरमुकाम फुङ्लिङ पुगेकी छन्।
शेर्पा समुदायका अनुसार ग्याल्पो ल्होसार तिब्बतेन पात्रोअनुसार नयाँ वर्षको आगमनको संकेतस्वरूप मनाइन्छ। यस वर्ष २१५२ औँ ग्याल्पो ल्होसार परेको छ। पर्वको पहिलो दिन बिहान सबेरै पूजापाठ गरी गुम्बा जाने, दोस्रो दिन आफन्तहरू भेट्ने तथा विशेष परिकार बनाएर भोज गर्ने परम्परा छ। तेस्रो दिन बुद्ध धर्मका रक्षाकर्ता देवताहरूको पूजा गरिन्छ।
ल्होसारको अवसरमा घर सफाइ गर्ने, पुरानो वर्षका नकारात्मक ऊर्जालाई हटाएर नयाँ संकल्पसहित वर्षको सुरुआत गर्ने चलन रहेको स्थानीय छेतेन लामाले बताएका छन्। चौबाटोमा फोहर फाल्ने परम्परालाई नकारात्मकताको परित्यागको संकेत मानिन्छ।
यस अवसरमा विशेष परिकार ‘गुथुक’ तयार गरिन्छ, जसमा मकै, भटमास, केराउ, चना, मुला, चामलको आटा आदि मिसाइन्छ। गुथुक कूल देवतालाई चढाएपछि मात्र परिवारका सदस्यहरूले ग्रहण गर्छन्। साथै, ‘छ्याङगुल’ नामक परिकार तयार गरिन्छ, जसमा जाँडमा छसर्पी, बदाम, नरिवल, किसमिस आदि मिसाइन्छ।
ल्होसारको विशेष दिन शुभसाइत हेरी पहाड वा अग्लो स्थानमा गई लुङ्दार (ध्वजा) टाँग्ने परम्परा छ। लुङ्दारमा लेखिएका मन्त्रहरूले शान्ति, समृद्धि, र दीर्घायुको कामना दर्शाउने विश्वास गरिन्छ।
नेपाल सरकारले ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक बिदा दिएको छ। सांस्कृतिक विविधताका कारण शेर्पा समुदाय मात्र नभई अन्य समुदायका मानिसहरू पनि ल्होसार पर्वको उत्सवमा सहभागी हुने क्रम बढ्दो छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे