
काठमाडौं, ३ वैशाख — नेपाल शिक्षक महासङ्घले आफ्नो आन्दोलन अझै पनि जारी रहने स्पष्ट पारेको छ। महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा पुगेको भए पनि सरकार शिक्षकहरूको मागप्रति अनुदार रहँदा आन्दोलन नरोकिने बताएका छन्। शिक्षकहरू विद्यालय बन्द गरी शैक्षिक हड्तालमा उत्रिएपछि मंगलबारदेखि सुरू भएको नयाँ शैक्षिक सत्रको भर्ना अभियानदेखि पठनपाठनसम्मका सबै कार्यक्रम प्रभावित भएका छन । देशभरका २९ हजार विद्यालयका ५५ लाख बालबालिकाको भर्ना अभियान प्रभावित भएको छ ।
शिक्षकहरूले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने, सरकारसँग भएका अघिल्ला सहमति कार्यान्वयन गर्नुपर्ने जस्ता माग राख्दै १५ दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन्। यस आन्दोलन अन्तर्गत उनीहरूले एसईई उत्तरपुस्तिका जाँच, कक्षा १२ को परीक्षा र नयाँ भर्ना अभियानसमेत बहिस्कार गरेका छन्।
यसैबीच, हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको छ। साथै, सरकार शिक्षकहरूलाई आन्दोलन छाडेर विद्यालय फर्किन आग्रह गर्दै सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णयमा पुगेको छ। सरकारको भनाइअनुसार विधेयक पारित गर्ने उद्देश्यले अधिवेशन बोलाइएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे