
काठमाडौं । सरकारले भूमि बैंकमार्फत परियोजनाका लागि आवश्यक जमिनको उपलब्धता सुनिश्चित गर्ने र परियोजनालाई धितो राखी वित्तीय तथा अन्य स्रोत साधनको व्यवस्था गरिने नीति सार्वजनिक गरेको छ।
संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन्। भूमि बैंकको माध्यमबाट परियोजनालाई धितोमा राखी स्थानीय वित्तीय संस्थामार्फत आवश्यक वित्तीय सहयोग तथा अन्य सामग्री व्यवस्थापन गरिने योजना सरकारले अघि सारेको छ।
यसैगरी, परियोजना बीमामार्फत आकस्मिक क्षतिबाट सुरक्षा प्रदान गरिने र समर्थन मूल्यमा आधारित कृषि उपज खरिद सम्झौता प्रणालीमार्फत व्यवसायीको जोखिम न्यूनीकरण तथा बजार सुनिश्चितता गर्ने नीति अपनाइने उल्लेख गरिएको छ।
सरकारले भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा मनोरञ्जन पार्कको रुपमा विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ। राष्ट्रपति पौडेलले भृकुटीमण्डपको बहुप्रयोजनात्मक विकासले पर्यटन तथा व्यापार प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको बताएका छन्।
त्यस्तै, सार्वजनिक संस्थानहरूको विद्यमान अवस्थाको समीक्षा गरी निजी क्षेत्रलाई जिम्मेवारी सुम्पने र सम्पत्तिको मौद्रिकीकरण गर्ने नीति अवलम्बन गरिने सरकारको घोषणा छ।
एकीकृत सामाजिक सुरक्षा अवधारणालाई थप सुदृढ गर्दै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायत विभिन्न निकायद्वारा सञ्चालित कार्यक्रमहरूबीच समन्वय स्थापित गरिने र सामाजिक सुरक्षाको सुदृढीकरण रणनीति कार्यान्वयनमा ल्याइने पनि उल्लेख गरिएको छ।
साइबर सुरक्षा क्षेत्रमा सरकार गम्भीर देखिएको छ। राष्ट्रपति पौडेलले डाटा सुरक्षा, एप डेभलपमेन्ट तथा प्रणाली सुदृढीकरणलाई सुरक्षित र व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे