
काठमाडौँ, २१ साउन । सरकारले धान, चामल र चिनीको अभाव हुन नदिन तत्काल यी वस्तुको आयात गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तत्काल १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति संरक्षण विभागका महानिर्देशक गजेन्द्रप्रसाद ठाकुरले मन्त्रालयबाट उल्लेखित परिमाणमा खाद्यान्न आयात गर्ने निर्णय भएको जानकारी दिए । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा चामलको अभाव तत्काल हुन नदिन उल्लेखित परिमाणमा धान–चामल आयात गर्न लागिएको उनले बताए । खाद्यान्न आयात गरिने भएकाले यी वस्तुको अभाव हुने चिन्ता नलिन उनले आम उपभोक्तालाई आग्रह गरे । विभागले कालोबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि नियमित अनुगमन कार्यलाई प्राथमिकतामा राखेर अघि बढेको उनले बताए । त्यसकारण मूल्यवृद्धिको समस्या पनि धेरै समय नरहने ठाकुरको भनाइ छ । देशव्यापी रूपमा अनुगमन कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय स्तरदेखि प्रदेश तथा स्थानीय स्तरसम्म सरोकारवाला निकायको समन्वयमा काम भइरहेको उनले जानकारी दिए । खाद्यान्नको अभाव तत्काल नरहेकाले मूल्य बढ्नुको कारण पत्ता लगाउन खुद्रा पसलेहरूले खाद्यान्न खरीद गर्ने ठाउँको अनुगमन भइरहेको ठाकुरको भनाइ छ ।
यही साउन ४ गते (जुलाई २०) मा भारतले बासमतीबाहेकका सेता चामलको निर्यातमा प्रतिबन्ध लगाएको हो । विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा ३३ अर्ब ६३ करोड रुपैयाँको धान–चामल आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने ४७ अर्ब ५९ करोड रुपैयाँको धान–चामल आयात भएको विभागको तथ्याङ्क छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे