
काठमाडौँ । नेपालको स्वदेशी डिजिटल नेभिगेसन प्लेटफर्म गल्ली म्याप्सले आगामी आम निर्वाचन २०८२ लाई लक्षित गर्दै मतदाताका लागि मतदान केन्द्र सजिलै पत्ता लगाउन सकिने विशेष मतदाता पहुँच सुविधा सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ललितपुर महानगरपालिकाको प्राविधिक सहकार्यमा विकास गरिएको यो सुविधा पाटन दरबार क्षेत्रमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको हो।
नयाँ सुविधाअन्तर्गत मतदाताले दुई विधिबाट आफ्नो मतदान केन्द्र पहिचान गर्न सक्नेछन्। मतदाता परिचयपत्रमा आधारित प्रणालीमार्फत परिचयपत्र नम्बर प्रविष्ट गरेपछि तोकिएको मतदान केन्द्रको सटीक स्थान र पुग्ने मार्ग देख्न सकिनेछ। त्यस्तै, प्रदेश, जिल्ला, स्थानीय तह र वडा चयन गर्ने प्रशासनिक छनोट प्रणालीमार्फत पनि मतदान स्थल पहिचान गरी नेभिगेसन सेवा लिन सकिने व्यवस्था गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मोबाइल प्रयोगमार्फत सुविधाको औपचारिक शुभारम्भ गर्दै स्वदेशी युवाको नवप्रवर्तनशील सोचले निर्वाचन प्रक्रियालाई थप प्रभावकारी बनाएको बताए। उनले यस पहलले सूचित र सहभागितामूलक निर्वाचनको राष्ट्रिय अवधारणालाई मजबुत बनाएको उल्लेख गरे।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गल्ली म्याप्ससँगको सहकार्य स्थानीय तहका लागि उपयोगी भएको बताउँदै प्रविधिको प्रयोगले निर्वाचनलाई अझ व्यवस्थित र नागरिकमैत्री बनाउने विश्वास व्यक्त गरे। उनले सबै नागरिकलाई आफ्नो मताधिकार प्रयोग गर्न प्रेरित गर्न यस्तो प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने बताए।
गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत राज विक्रम महर्जनले साना समस्या समाधानबाट सुरु भएको यात्राले आज राष्ट्रिय महत्वको प्रक्रियामा योगदान दिन पाएकोमा गर्व व्यक्त गरे। उनले आगामी निर्वाचनमा बढीभन्दा बढी मतदाताले यस प्रविधिको प्रयोग गरी सहज रूपमा मतदान केन्द्र पत्ता लगाउन सकून् भन्ने लक्ष्य रहेको स्पष्ट पारे। कार्यक्रममा विभिन्न सरकारी अधिकारी, सरोकारवाला र विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे