
काठमाडौं — पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ। काठमाडौँबाट नेपालगञ्जतर्फ गइरहेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति आएको आकस्मिक बाढीले बगाएको हो।
इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाका अनुसार बस नयाँ डाइभर्सन हुँदै गुडिरहेको बेला बाढीमा फसेको थियो। तत्कालै एक्साभेटर प्रयोग गरी बसमा सवार ३८ यात्रु, जसमा तीन जना शिशु पनि थिए, सकुशल उद्धार गरिएको छ।
यात्रुको सामग्रीहरू के कति बगाए भन्नेबारे स्पष्ट जानकारी नभएको प्रहरीले जनाएको छ। निरन्तर वर्षा भइरहेका कारण बाढीमा परेको बस अझै खोलाबाट निकालिएको छैन।
रातभरीको वर्षाले सडकभित्र हिलो जमेकाले दाउन्नेसहितको क्षेत्र पूर्णरूपमा अवरुद्ध भएको छ। प्रहरी निरीक्षक तिमिल्सेनाले सवारीसाधन सञ्चालनमा असहज भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे