
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तराईका विभिन्न क्षेत्रमा आगामी दुई दिनसम्म अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति एक विशेष बुलेटिन जारी गर्दै यो जानकारी दिएको हो।
बुलेटिनमा भनिएको छ, “मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा अत्यधिक गर्मी हुने सम्भावना रहेकोले आवश्यक तयारी गर्न र सावधानी अपनाउन अनुरोध गर्दछौं।”
विशेष गरी लुम्बिनी प्रदेशका तराई भू–भागहरूमा तातो हावाको लहर (हीट वेभ)को समेत सम्भावना रहेको उल्लेख गर्दै विभागले उक्त क्षेत्रमा गर्मीको प्रभावबाट जोगिन विशेष सतर्कता अपनाउन सुझाव दिएको छ।
बुलेटिनमा उल्लेख अनुसार, लुम्बिनी प्रदेशका केही तराई भू–भागमा पछिल्लो केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। यस्तै, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको छ।
विभागले स्वास्थ्यमा पर्ने सम्भावित असरलाई ध्यानमा राखी अत्यधिक गर्मीको बेला घर बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन र अत्यावश्यकबाहेकको काममा धूपमा हिँडडुल नगर्न आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे