
काठमाडौँ, १९ वैशाख — नेपालले अब भारतबाट दैनिक १५ घण्टा बिजुली आयात गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबारदेखि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म (सोलार समय) र राति २ बजेदेखि बिहान ६ बजेसम्म भारतबाट ६ सय मेगावाट बिजुली ल्याइनेछ।
यसअघि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म गरी १६ घण्टा आयात हुँदै आएको थियो। अब एक घण्टा घटाएर १५ घण्टा मात्रै बिजुली ल्याइनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतले मे र जुन महिनासम्म नेपाललाई बिजुली आपूर्ति गर्न अनुमति दिएको छ। अहिले नेपालका खोलानालामा पानीको बहाव बढ्दै गएकोले आन्तरिक उत्पादन पनि बढ्दो छ।
भारतको टनकपुर–महेन्द्रनगर लाइनबाट थप ५४ मेगावाट आयात भइरहेको छ। भारतमै तापक्रम, आईपीएल र चुनावका कारण बिजुलीको माग बढेपछि सीमित आपूर्ति भइरहेको शाक्यले बताए।
नेपालले आन्तरिक उत्पादनले नपुगेको बिजुली माग भारतबाट खरिद गरेर पुर्याउने प्रयास गरिरहेको छ। औद्योगिक क्षेत्रमा बिजुली कटौती नहोस् भनेर उच्च प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे