
काठमाडौँ– निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मत परिणाम मतपेटिका संकलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने दाबी गरेको छ। निर्वाचन आयोग ले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले समयमै मतगणना सम्पन्न गरी नतिजा सार्वजनिक गरिने स्पष्ट पारेका हुन्।
उनका अनुसार मतपेटिका प्राप्त भएसँगै गणना सुरु गरिने र २४ घण्टाभित्र प्रत्यक्षतर्फको परिणाम सार्वजनिक गरिनेछ। प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएपछि समानुपातिकतर्फको मतगणना प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।
आयोगले देशभरका १६५ निर्वाचन क्षेत्रमा मतगणनासम्बन्धी परिपत्र जारी गरिसकेको छ। मतगणना प्रक्रियालाई छिटो, पारदर्शी र सुरक्षित बनाउन आवश्यक प्राविधिक व्यवस्था मिलाइएको आयोगको भनाइ छ। मतगणना स्थलमा सुरक्षाका लागि तारजाली र निगरानी क्यामेरा जडान गर्ने काम सम्पन्न भइसकेको छ।
भौगोलिक कठिनाइ भएका क्षेत्रलाई ध्यानमा राख्दै आयोगले १५ जिल्लाका ६१ मतदानस्थलबाट मतपेटिका हवाई साधनमार्फत संकलन गरिने जानकारी दिएको छ। यसले समयमै मतगणना सुरु गर्न सहयोग पुग्ने आयोगको विश्वास छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे