
काठमाडौँ — अण्डाको मूल्य एकाएक धेरै घटेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ घटेको मूल्य सार्वजनिक गरेको हो। सङ्घका अनुसार नेपालमा अण्डा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा भित्रिएकाले बजारमा भाउ घटेको हो।
नयाँ मूल्यअनुसार ठूलो अण्डा (प्रति क्रेट ९३० वटा) को समर्थन मूल्य ३७५ रुपैयाँ र मिडियम अण्डाको ३३५ रुपैयाँ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डा ४३५ रुपैयाँ र मिडियम ४०५ रुपैयाँ थियो। माघ ११ गते भने ठूलो अण्डा ४९५ र मिडियम ४७५ रुपैयाँसम्म पुगेको थियो।
यसअघि गत मङ्सिर महिनामा अण्डाको मूल्य हालसम्मकै सबैभन्दा महँगो भएको थियो। त्यो बेला फार्ममै ठूलो अण्डा प्रति क्रेट ५६५ रुपैयाँ र मझौला ५५० रुपैयाँमा बिक्री भएको थियो।
अण्डा उत्पादन गर्न किसानलाई प्रतिगोटा करिब १९ रुपैयाँ १२ पैसा खर्च पर्छ। यस हिसाबले एक क्रेट अण्डाको लागत करिब ५७४ रुपैयाँ पर्न आउँछ। अहिलेको बजार मूल्य लागतभन्दा निकै कम भएपछि कुखुरापालक किसानहरू निराश भएका छन्। उनीहरूले मूल्य यस्तै घटिरहे व्यवसाय टिकाउन गाह्रो हुने गुनासो गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे