
काठमाडौँ, २९ चैत । राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईलाई भारतको आसाम राज्यबाट आज नेपाल ल्याइँदैछ। भारतीय प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो । झापाको काँकडभिट्टा नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको छ। उनी केही बेरमै भारत–नेपाल सीमास्थित मेची पुल हुँदै नेपाल प्रवेश गर्नेछन्।
मेची पुलमा प्रसाईका परिवारका सदस्य र समर्थकहरू भेला भएका छन्। नेपाल प्रवेश गरेपछि उनलाई झापाको भद्रपुर विमानस्थलबाट काठमाडौं पठाइनेछ।
चैत १५ गते काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रसाई नेतृत्वको समूहले ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेको आरोप छ। सरकारी तथ्यांकअनुसार सो दिनको प्रदर्शनमा विभिन्न सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको थियो, जसमा ४० भन्दा बढी संरचना ध्वस्त वा क्षतिग्रस्त भएका थिए।
घटनापछि उनी फरार रहँदै आएका थिए। प्रहरीले उनीमाथि शान्ति भंग, सार्वजनिक सम्पत्ति नोक्सानी, सरकारी काममा बाधा र हिंसात्मक गतिविधिमा संलग्नताको अभियोगमा अनुसन्धान अघि बढाउने जनाएको छ।
प्रसाईको सचिवालयले कानुनविद्, मानव अधिकारकर्मी र कूटनीतिक नियोगका प्रतिनिधिको रोहबरमा उनलाई नेपाल प्रहरीलाई बुझाउने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे