
काठमाडौं,१५ साउन ।यसवर्ष मनसुनी वर्षामा केही सुस्तता छाएकाले धान राेपाइँमा पनि सुस्त देखिएकाे छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या हुँदा हालसम्ममा ७७ प्रतिशत मात्र धान राेपाइँ सम्पन्न भएकाे छ । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारीरुपमा नभएकाे हाे ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रकाशकुमार सञ्जेलका अनुसार कृषि विभागको यही साउन १२ गते शुक्रवारसम्मको तथ्याङ्कअनुसार मुलुकभर ७७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्षकाे साेही अवधिसम्ममा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत वर्षको भन्दा यस वर्ष सो अवधिमा १३ प्रतिशत कम रोपाइँ भएको देखिन्छ । विशेषगरी मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन ढिला सुरु भएका कारण धान रोपाइँ कम भएको विभागले उल्लेख गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । यही कारणले तुलनात्मकरुपमा कम वर्षा भएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बताए ।
“मनसुन वर्षा सरदर भन्दा केही कमजोर देखिएको छ । हरेक वर्ष मनसुनको एउटै ‘प्याट्रन’ हुदैन । तर, यो वर्ष मनसुन केही कमजोर देखिएको छ, अझै दुई/तीन दिन वर्षा राम्ररी हुने अवस्था देखिएकाे माैसम विभागकाे भनाइ रहेकाे छ । मनसुन कमजोर रहे पनि खण्डितरुपमा मुलुकभर वर्षा भने भइ नै रहेको छ ।
कृषि विभागको विवरणमा कर्णाली प्रदेशमा विशेषगरि लम्पी स्कीन रोगका कारण गोरुको अभाव भए पनि रोपाइँ भने सहज रुपमा भएको छ ।

सुदूरपश्चिम प्रदेशमा रोपाइँ करिब सकिएको छ । विस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा र लम्पी स्कीन रोगको प्रभाव कम हुँदै जाँच्दा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै जाने विभागको अपेक्षा गरिएकाे छ । मध्यतराईमा साउन मसान्तसम्म नै रोपाइँ हुने गरेका सन्दर्भमा साउन मसान्तसम्ममा ९० देखि ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको विभागले उल्लेख गरेको छ ।
कृषि मन्त्रालयका अनुसार काेशी प्रदेशमा गत वर्ष ८८ प्रतिशत राेपाइँ सकिएकाेमा यसवर्ष ८४ प्रतिशत मात्र सम्पन्न भएकाे छ । यसैगरी मधेस प्रदेशमा सवैभन्दा कम ५९ प्रतिशत मात्र सम्पन्न भएकाे छ । धानकाे भण्डार र नेपालकाे प्रमुख धान उत्पादन हुने क्षेत्रमा धान राेपाई नसकिंदा धेरैले चिन्ता व्यक्त गरेका छन् । गत वर्ष यही अवधिसम्ममा ८९ प्रतिशत सकेकाे थियाे ।
यसैंगरी बागमती प्रदेशमा गत वर्ष ९३ प्रतिशत धान राेपाई सम्पन्न भएकाेमा अहिलेसम्ममा ७२ प्रतिशत सम्पन्न भएकाे मन्त्रालयकाे तथ्याङ्क रहेकाे छ । गण्डकी प्रदेशमा भने ८२ प्रतिशत धान राेपाइँ सकेकाे छ । गत वर्षकाे साउन १२ सम्ममा साे क्षेत्रमा ९६ प्रतिशत धान राेपाइँ सकेकाे थियाे । लुम्विनी प्रदेशमा भने ८१ प्रतिशत धान राेपाइँ सकेकाे छ । गतवर्ष साे क्षेत्रमा ८५ प्रतिशत सकेकेा थियाे ।
कर्णाली प्रदेशमा भने यसपाली गत वर्षकाे तुलनामा वढी धान राेपाइँ सकेकाे छ । गत वर्षकाे साउन १२ सम्ममा ७८ प्रतिशत मात्र धान राेपाइँ भएकाेमा यसवर्ष ८५ प्रतिशत सम्पन्न भएकाे छ ।
सुदुरपश्चिममा भने गतवर्ष पनि ९९ प्रतिशत सकेकाेमा यसवर्ष पनि ९९ प्रतिशत नै धान राेपाइँ सकेकाे छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा १० लाख ५३ हजार ४ सय ४ हेक्टरमा धान राेपाइँ भएकाे छ । नेपालमा १३ लाख ५७ हजार ८ सय १६ हेक्टर धान राेपाइँ हुने क्षेत्र रहेकाे छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार जारी मनसुनमा हालसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ । शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार जुन १ देखि जुलाई २१ तारिखसम्म देशभर सरदर पाँच सय ३८ दशमलव दुई मिलिमिटर वर्षा भएको छ । जुन सरदर वर्षाकै हाराहारीमा छ । पुरै मनसुन अवधिभर अर्थात् चार महिनामा नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुन्छ ।
यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपालमा प्रवेश गरेको थियो । नेपालमा सरदर जुन १३ देखि अक्टोबर २ तारिखसम्मको अवधिलाई मनसुन मानिन्छ । यसअघि विगतका वर्षभन्दा यो वर्ष मनसुनी वर्षामा हुने प्रक्षेपण गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे