
काठमाडौं — खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले संघीय सरकारको बेवास्ता गरेको भन्दै आइतबारदेखि सत्याग्रह सुरु गरेका छन्।
स्थानीय रूपमा उत्पादन हुने बाँस, काठ, गाँजा, रक्सी जस्ता सामग्री कानुनी रूपमा प्रयोग गर्न नपाइने व्यवस्था हटाउन पटक–पटक माग गरे पनि संघीय सरकारले सुनुवाइ नगरेको भन्दै उनी आन्दोलनमा उत्रिएका हुन्।
सिंहदरबारको दक्षिण गेटमा कपाल मुन्डन गरेर बाँसको मुडा बोकेर प्रदर्शन गर्न खोज्दा प्रहरीको रोहवरमा माइतीघरमा लगिएको थियो। उनले अब माइतीघरमै सत्याग्रह सुरु गरेका छन्।
भट्टराईले तीन दिनको भोक हड्ताल सुरु गर्दै सातबुँदे माग अघि सारेका छन्। उनले माग पुरा नभए साउन १४ गतेदेखि अनिश्चितकालीन आमरण अनशन बस्ने चेतावनी दिएका छन्।
उनका मागहरूमा स्थानीय स्रोतहरूलाई कानूनी रूपमा उपयोग गर्न दिने व्यवस्था, भवन निर्माण कोडमा स्थानीय सामग्रीलाई समावेश गर्ने, हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबाट हुने जोखिम रोक्न नीति बनाउनुपर्ने, र नेपालले नछोडेको कार्बनका लागि अन्तर्राष्ट्रिय क्षतिपूर्ति पाउने व्यवस्था गर्नुपर्ने माग समावेश छन्।
उनी भन्छन्, “गाउँको स्रोत थन्काएर विकास हुँदैन, नीति बनाइदिनुस्।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे