
काठमाडौं, २ डिसेम्बर – काठमाडौँमा आइतबारदेखि शुरु भएको तीन दिने ‘डिजिटल राइट्स फेस्टिवल’मा डिजिटल माध्यमका बहुआयामिक पक्षहरूसँग सम्बन्धित विषयमा व्यापक छलफल भइरहेको छ। यो फेस्टिवल डिजिटल फ्रिडम कोलिसनको आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयोजनमा भइरहेको हो।
फेस्टिवलको उद्घाटन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गरेका थिए। उद्घाटनका अवसरमा उनले संविधानले प्रत्याभूत गरेको व्यक्तिगत अधिकारलाई इन्टरनेटका माध्यमबाट कसरी सुरक्षित राख्ने विषयमा गहिरो छलफल आवश्यक रहेको औंल्याए। उनले भने, “व्यक्तिगत डाटा सुरक्षित राख्दै इन्टरनेटको प्रयोगलाई व्यवस्थित बनाउनु पर्नेछ, र नियामक निकायले स्वतन्त्रताको हकलाई जोगाउनेतर्फ सोच्नुपर्नेछ।”
अध्यक्ष मगरले पछिल्लो समय मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको समस्या बढेको भन्दै यसलाई कानुनी व्यवस्थाका माध्यमबाट रोकथाम गर्नुपर्ने आवश्यकता व्यक्त गरे। उनले त्यस्तै, डिजिटल माध्यममा व्यक्तिको अधिकारलाई सुरक्षित गर्नुपर्ने र त्यस्तो वातावरण तयार गर्न चाहिएको बताइन्।
फेस्टिवलमा कोलिसनका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए अनुसार, विभिन्न विषयमा झन्डै एक दर्जन प्यानल छलफल हुनेछन्। यसका प्रमुख विषयहरूमा सामाजिक सञ्जालसँग सम्बन्धित प्रस्तावित कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको चुनौतीहरू, एआइका अवसर र सम्भावना, साथै महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूका अधिकारको बारेमा छलफल हुनेछ।
कार्यक्रममा नेपाली कांग्रेसका सांसद र पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले पनि प्यानल डिस्कसनमा सहभागिता जनाएका थिए। उनले नेपालको आईटी क्षेत्रमा उल्लेखनीय आर्थिक कारोबार भइरहेको जानकारी दिँदै भने, “नेपालमा फरकफरक कामका लागि व्यक्तिहरू इन्टरनेटको प्रयोग गर्दैछन्, र आगामी निर्वाचनमा पनि सामाजिक मिडिया र इन्टरनेटको प्रयोग बढ्नेछ।”
प्यानल डिस्कसनमा सहभागी नेकपा एमालेकी सचेतक सुनिता बरालले डिजिटल प्लेटफर्महरूको प्रयोगसँग समस्याहरू समेत बढेको उल्लेख गर्दै, “डिजिटल प्लेटफर्ममा आएका सबै सामग्रीहरू ठीक छैनन्। त्यसलाई नियन्त्रणमा राख्न सचेतना बढाउनुपर्ने छ,” भनिन्।
संचार मन्त्रालयका आइटी सल्लाहकार डा. सालिग्राम पराजुलीले भने, “जुनसुकै नीति बनाउनुअघि स्थायित्व सुनिश्चित गर्नुपर्नेछ। संचार मन्त्रालयले इन्टरनेटको माध्यमलाई व्यवस्थित बनाउने काम गरिरहेको छ।”
फेस्टिवलमा सहभागी इन्जिनियर दिपेश बिष्टले नेपालमा डिजिटल आर्थिक कारोबार राम्रोसँग भइरहेको बताउँदै डाटा एक्सेस प्लेटफर्ममा काम गर्नु पर्ने आवश्यकता औंल्याए। उनले ग्लोबल डिजिटल कम्प्याक्टको पालना गर्दै अरूको डाटा प्रयोग गर्दा सहमति लिनुपर्ने महत्त्वपूर्ण पक्षमा जोड दिएका थिए।
फेस्टिवलमा तीन दिनभरि प्यानल डिस्कसनहरूसमेत आयोजना हुनेछन्। यस फेस्टिवलको मुख्य उद्देश्य डिजिटल माध्यमको प्रयोग र व्यवस्थापनका सवालमा नयाँ अवधारणा प्रस्तुत गर्नु हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे