
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले लैङ्गिक हिंसाको स्वरूप तीव्र रूपमा परिवर्तन हुँदै डिजिटल माध्यमतर्फ सरेको बताएका छन्। डिजिटल हिंसाका कारण अब भौतिक सुरक्षा मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले मानसिक र मनोवैज्ञानिक सुरक्षामा समेत गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
मंगलबार ‘लैङ्गिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक कार्यक्रममा बोल्दै मन्त्री खरेलले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत हुने मनोवैज्ञानिक दबाब, धम्की, अपमानजनक टिप्पणी तथा चरित्रहत्या जस्ता घटनाले मानिसलाई आफ्नै घरभित्र पनि असुरक्षित महसुस गराउने अवस्था सिर्जना भएको बताए।
उनका अनुसार हालको लैङ्गिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भइसकेको छ, जहाँ व्यक्ति भौतिक रूपमा सुरक्षित देखिए पनि डिजिटल आक्रमणका कारण मानसिक रूपमा गम्भीर त्रास र असुरक्षामा पर्ने अवस्था देखिन थालेको छ। ‘मानिस घरमै बसेर सुरक्षित स्थानमा सामाजिक सञ्जाल हेर्दा पनि एकाएक डर, तनाव र असहजता महसुस गर्न थालेका छन्,’ उनले भने।
मन्त्री खरेलले डिजिटल हिंसाले महिला, किशोरी, परिवारका सदस्य मात्र नभई डिजिटल प्लेटफर्म प्रयोग गर्ने जो–कोहीलाई प्रभावित पारिरहेको उल्लेख गरे। ‘डिजिटल हिंसाको सिकार मेरी आमा, श्रीमती, दिदीबहिनी वा साथी जो–कोही हुन सक्छ,’ भन्दै उनले यसलाई गम्भीर सामाजिक चुनौतीका रूपमा लिनुपर्ने बताए।
डिजिटल हिंसाका कारण मानसिक तनाव बढ्दै गएको र आत्महत्याका घटनामा समेत वृद्धि देखिन थालेको उल्लेख गर्दै उनले अब सुरक्षाको परिभाषा भौतिक सीमामा मात्र सीमित नरहने बताए। ‘मानिस किन असुरक्षित महसुस गरिरहेको छ भन्ने प्रश्नको उत्तर भौतिक सुरक्षा मात्र पर्याप्त नहुनु हो,’ उनले स्पष्ट पारे।
सामाजिक सञ्जालको प्रयोग तीव्र रूपमा बढिरहेको सन्दर्भमा यसको उपयोग, सदुपयोग, दुरुपयोग र व्यवस्थापनसम्बन्धी व्यवस्थित शिक्षा आवश्यक रहेको मन्त्री खरेलको धारणा छ। ‘अब सामाजिक सञ्जाल चलाउन जान्नु मात्रै पर्याप्त छैन, व्यक्तिगत सुरक्षा कसरी सुनिश्चित गर्ने र डिजिटल माध्यमलाई सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भन्ने ज्ञान पनि आवश्यक छ,’ उनले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे