
काठमाडौँ , २५ माघ । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेकपा (एमाले) का उपाध्यक्ष र पूर्वमाओवादी नेता रामबहादुर थापालाई आजीवन कारावासको माग गरेका छन्।
शुक्रबार बिहान फेसबुकमा पोस्ट गर्दै सापकोटाले थापाको जनयुद्धलाई ‘हिंसा’ भनेको अभिव्यक्तिलाई लिएर उनलाई तुरुन्त पक्राउ गरी कारावासमा राख्न सरकार र प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।
सापकोटाले आफ्नो पोस्टमा लेखेका छन्, “रामबहादुर थापाले जनयुद्धलाई हिंसा भनेको छ भने, त्यसका लागि सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, तुरुन्त गिरफ्तार गरी आजीवन कारावास हालियोस्।” उनले थपे, “हामीले जनयुद्ध गरेको हो, त्यो न्याय र परिवर्तनको लागि भएको वर्ग संघर्ष थियो। थापा आफैं त्यसमा संलग्न थिए, अब जनयुद्धलाई हिंसा भन्नु उनको अभिव्यक्ति निन्दनीय छ।”
बिहीबार अछामको भ्रमणमा पुगेका थापाले जनयुद्धलाई हिंसा भन्दै त्यसले देशलाई ठूलो क्षति पुर्याएको टिप्पणी गरेका थिए। यस अभिव्यक्तिलाई माओवादी समर्थकहरूले विरोध जनाएका छन् भने एमाले समर्थकहरूले यसलाई स्वागत गरेका छन्। थापाले भने, “माओवादीको जनयुद्ध हिंसा नै हो, त्यसले देशलाई ठूलो क्षति पुर्यायो।”
माओवादी केन्द्रका नेताहरूले थापाको यो अभिव्यक्ति जनयुद्धमा शहीद, बेपत्ता र पीडितका लागि अपमानजनक रहेको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे