
काठमाडौं । लामो समयदेखि जारी आन्दोलनको सन्दर्भमा सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता आज दिउँसो २ बजेका लागि तय गरिएको छ।
शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार आजको वार्ता निर्णायक बन्ने अपेक्षा गरिएको छ। महासंघको बिहान बसेको बैठकले वार्तामा सहभागी हुने र सरकार जसरी प्रस्तुत हुन्छ, महासंघ पनि त्यही अनुसार प्रस्तुत हुने निर्णय गरेको हो।
यसअघि सोमबार र मंगलबार राति अबेरसम्म बसेका वार्ताहरू सकारात्मक दिशातर्फ उन्मुख भएको महासंघ र सरकारी स्रोतले जनाएका छन्। मंगलबार रातिको बैठकपछि शिक्षामन्त्री रघुजी पन्तले पनि वार्ता सकारात्मक भएको र आज निष्कर्षमा पुग्ने अपेक्षा व्यक्त गरेका थिए।
मंगलबारको बैठकमा शिक्षक महासंघले सरकारसमक्ष ९ बुँदे प्रस्ताव पेस गरेको थियो। आजको छलफल सोही प्रस्तावमा केन्द्रित हुने जनाइएको छ। यदि मन्त्रिपरिषद्ले ९ बुँदे प्रस्ताव पारित गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्ने महासंघको भनाइ छ।
शिक्षक महासंघको ९ बुँदे प्रस्तावमा निम्न विषयवस्तु समेटिएका छन्: विद्यालय कर्मचारी र ईसीडी शिक्षकहरूको तलब वृद्धि, सामाजिक सुरक्षा कोषको व्यवस्था, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादाक्रम, अस्पतालमा उपचारमा छुट, निमावि प्रथम र मावि द्वितीय शिक्षकको तलब समायोजन, प्रधानाध्यापकसँग सम्बन्धित विषय र राहत शिक्षकहरूको व्यवस्थापन।
सरकार र शिक्षक महासंघबीचको आजको वार्ताले शिक्षा क्षेत्रको अवरोध अन्त्य गर्ने दिशामा टुंगो लगाउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे