
काठमाडौं। दशैं नजिकिँदै जाँदा राजधानी काठमाडौं उपत्यका छोड्नेहरुको संख्या तीव्र रूपमा बढेको छ। स्कूल र कलेजहरूमा बिदा सुरु भएसँगै उपत्यकावासीहरू आफ्ना गाउँघर फर्किन थालेका छन्। विशेषगरी गोंगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको भीड देखिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनादेखि हालसम्म मात्र करिब १ लाख ३८ हजार बढी व्यक्तिहरू उपत्यका छाडिसकेका छन्। यात्रुको चाप बढेसँगै ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले संयुक्त रूपमा यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन्।
यात्रुको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै अतिरिक्त चेकिङ, सवारी साधनको प्राविधिक परीक्षण, र तोकिएको भाडा अनुसार टिकट बिक्रीमा निगरानी गरिएको अधिकारीहरूले बताएका छन्। दशैं, तिहार र छठ पर्वमा देशका विभिन्न भागतर्फ जाने यात्रुको संख्या झन् बढ्ने अनुमान गरिएको छ।
गोंगबु बसपार्कमा यात्रुको भीड व्यवस्थापन गर्न ट्राफिक प्रहरीले छुट्टै टोली परिचालन गरेको छ। साथै यात्रुहरुलाई तोकिएको टिकट काट्न, अनावश्यक भीड नगर्न र निर्धारित गन्तव्यअनुसार सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।
दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट दैनिक हजारौं यात्रु आफ्ना परिवार र आफन्त भेट्न निस्कँदा राजधानीको सहर तुलनात्मक रूपमा खाली हुँदै गएको देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे