
काठमाडौँ । मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका चर्चित क्रिकेटर मिनष थापाको निधन भएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको मृत्यु भएको हो।
प्रहरीका अनुसार विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजे अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
थापा कोशी प्रदेशका उदाउँदै गरेका प्रतिभाशाली क्रिकेटरका रूपमा परिचित थिए। उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका थिए भने कोशी प्रदेशबाट विभिन्न फ्रेन्चाइज लिगहरूमा समेत सहभागिता जनाएका थिए। उनको असामयिक निधनले नेपाली क्रिकेट क्षेत्रमा शोक छाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे