
काठमाडौं, माघ १५ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी माघ १५ गते सोमबारदेखि प्राथमिक सेयर (आइपीओ) निष्कासन थालेको छ। कम्पनीले यस सेयर निष्कासनमार्फत १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। माघ २९ गतेसम्म आवेदन दिन सकिने यस आइपीओको प्रति सेयर मूल्य १०० रुपैयाँ तोकिएको छ।
कम्पनीले कुल २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ।
रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ, जसले मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ। आइपीओको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्वा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले २०७९ चैत २८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरेको थियो। कम्पनीले २०८० जेठ ८ मा नेपाल बीमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृति पाएको हो। सार्वजनिक लिमिटेड कम्पनीको रूपमा स्थापना भएको यस संस्थाले लघु बीमाका सेवाहरूमा काम गरिरहेको छ।
यस आइपीओले विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बीमा क्षेत्रमा लगानी गर्ने अवसर प्रदान गरेको छ। यो कम्पनीको कदमले लघु बीमा क्षेत्रमा पहुँच र विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे