
काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा र नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डिन आर. थोम्पसनबीच शिष्टाचार भेट सम्पन्न भएको छ। सो भेट प्रहरी प्रधान कार्यालय, नक्सालमा मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको हो।
भेटका क्रममा दुवै पक्षले नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न समसामयिक विषयहरूमा छलफल गरेका थिए। विशेष गरी आपराधिक अनुसन्धान, साइबर सुरक्षाको प्रवृत्ति, सीमा सुरक्षा, तालिम तथा प्रविधिको आदानप्रदान लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै संवाद गरिएको स्रोतले जनाएको छ।
महामहिम राजदूत थोम्पसनले नेपाल प्रहरीसँग अमेरिकाको सहकार्यलाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दै भविष्यमा पनि निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए। उनले नेपाल प्रहरीको कार्यक्षमता, व्यावसायिकता र सेवा प्रवाहप्रतिको समर्पणको प्रशंसा समेत गरेका थिए।
प्रहरी महानिरीक्षक थापाले विगतमा प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा दुई देशका सुरक्षा निकायहरूबीच अझ सघन सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
शिष्टाचार भेटलाई नेपाल–अमेरिका सुरक्षा सम्बन्धमा थप विश्वास, समझदारी र सहकार्यको अवसरका रूपमा लिइएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे