
काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण र समायोजन गर्न उत्पादक, पैठारीकर्ता तथा वितरकलाई कडा निर्देशन दिएको छ। विभागले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत अनावश्यक मूल्यवृद्धि रोक्दै प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न सरोकारवाला निकायलाई सचेत गराएको हो।
विज्ञप्तिअनुसार खाद्यान्न, खानेतेल, ग्यासलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने प्रमुख उत्पादक, प्रमुख पैठारीकर्ता तथा वितरकलाई बोलाई अनुचित नाफा नलिन र वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन निर्देशन दिइएको छ। साथै, बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि तत्काल समायोजन गरी उपभोक्तालाई राहत दिन आग्रह गरिएको विभागले जनाएको छ।
विभागले पछिल्लो समय अत्यावश्यक वस्तुमा मूल्यवृद्धि र आपूर्तिमा कमी आएको विषयमा उपभोक्ता तह तथा सार्वजनिक सञ्चारमाध्यमबाट आएका गुनासोलाई गम्भीर रूपमा लिएको स्पष्ट पारेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न विभाग प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
यस उद्देश्यका लागि विभागले अन्य सम्बन्धित निकायसँगको समन्वयमा उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता तथा सेवाप्रदायक फर्म तथा प्रतिष्ठानहरूमा संयुक्त अनुगमन कार्यलाई तीव्र बनाइरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे