
काठमाडौं — सिद्धार्थ बैंकले जनकपुर शाखा प्रबन्धक पक्राउसम्बन्धी समाचार झूठो भएको बताउँदै घटनाबारे स्पष्टिकरण दिएको छ। पुस १६ गते जारी विज्ञप्तिमा बैंकले कानूनी प्रक्रिया अनुसार कर्जा असुली र धितो लिलामी प्रक्रियाहरू अघि बढाएको उल्लेख गरेको छ।
बैंकका अनुसार, शाखा कार्यालयले स्थानीय सुरक्षा निकायहरूसँग समन्वय गर्दै घटनाबारे जानकारी गराएको थियो। सुरक्षा निकायका प्रतिनिधिहरूले जनकपुर शाखाको अवस्था बुझेर छलफल र वार्ताका लागि प्रहरी कार्यालय उपयुक्त स्थान हुने सुझाव दिएका थिए।
यसै सुझावका आधारमा, शाखा प्रबन्धक र कर्जा अधिकारी पुस ११ गते जिल्ला प्रहरी कार्यालय गएर आवश्यक छलफल गरेका थिए। सोही छलफलको भिडियो केही व्यक्तिहरूले रेकर्ड गरी शाखा प्रबन्धक पक्राउ परेको भनी झूठो समाचार फैलाएको बैंकले दाबी गरेको छ।
धितो लिलामी प्रक्रियाबारे बैंकले कानूनी र बैंकिङ अभ्यासअनुसार सबै चरण पूरा गरेको स्पष्ट पारेको छ। साथै, यदि कुनै पक्ष यो प्रक्रियाबाट असन्तुष्ट भएमा, उनीहरूले कानूनी निकायमा गुनासो गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ।
बैंकले कानून विपरीत अवरोध सिर्जना गरेर सेवामा बाधा पुर्याउनु अनुचित रहेको बताउँदै सबै सरोकारवालाहरूलाई बैंकका सेवाहरूलाई सहज रूपमा सञ्चालन गर्न सहयोग गर्न अनुरोध गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे