
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेका छन्। आयोगको टोलीले भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा गम्भीर अनियमितता भएको आशंकामा अधिकारीलाई नियन्त्रणमा लिएको पुष्टि भएको छ।
आयोगका स्रोत अनुसार अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाइ पनि पक्राउ गरी विशेष अदालतमा उपस्थिति गराइसकेको छ। दुवै विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न आवश्यक छुट्टै म्याद थपका लागि अदालतमा पेश गरिएको आयोगले जनाएको छ।
उजुरीका अनुसार क्यानले नलिन्चोकस्थित आफ्नै स्वामित्वको ३२ रोपनी जग्गामा निर्माण गरेको हेलिप्याडका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन (EIA) नगरी काम अघि बढाइएको थियो। सो हेलिप्याडको उद्घाटन २०८१ असारमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ र महानिर्देशक अधिकारीले संयुक्त रूपमा गरेका थिए।
यसअघि पनि अधिकारीमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचारमा संलग्नताको आरोपमा आयोगले छुट्टै अनुसन्धान अघि बढाइरहेको छ, जसले क्यानको नेतृत्वमा भइरहेका परियोजनाको पारदर्शिता र उत्तरदायित्वमाथि थप प्रश्न उठाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे