
काठमाडौँ — नेपाल शिक्षक महासंघले हाल जारी राखिएको आन्दोलन राज्यको शिक्षा प्रणालीप्रतिको संवेदनहीनता तथा शिक्षक, कर्मचारी र विद्यार्थीप्रति देखिएको अमैत्रीपूर्ण व्यवहारविरुद्ध रहेको स्पष्ट पारेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै आन्दोलनको मुख्य उद्देश्य शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक विधेयक ल्याउन राज्यलाई बाध्य पार्नु रहेको बताएका थिए। सुवेदीका अनुसार, ‘अग्रगामी विद्यालय शिक्षा ऐन’ ल्याउने कार्यमा राज्यले निरन्तर आलटाल गरेकोप्रति आपत्ति जनाउँदै आन्दोलन अघि बढाइएको हो।
सन्देशमा सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहीनता र शिक्षक–विद्यार्थीप्रति देखिएको हेपाहा र षड्यन्त्रकारी प्रवृत्तिविरुद्ध रहेको उल्लेख गरेका थिए। आन्दोलनमा सहभागी शिक्षकहरूलाई उनले अनुशासन र संयमका साथ सक्रिय भूमिका निभाउन आग्रह गरेका थिए।
सुवेदीले आन्दोलन शान्तिपूर्ण र संगठित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। साथै, आन्दोलनमा सहभागी हुन इच्छुक शिक्षकहरूलाई बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म अनिवार्य रूपमा आन्दोलनस्थलमा उपस्थित हुन अनुरोध गरिएको थियो।
महासंघले लामो समयदेखि शिक्षासम्बन्धी नीति तथा कानुनमा सुधारको माग गर्दै आएको बताइएको छ। तर, राज्यको उदासीन व्यवहारले गर्दा शिक्षकहरू पुनः आन्दोलन गर्न बाध्य भएको महासंघले जनाएको छ।
यसअघि पनि शिक्षकहरूले विभिन्न चरणमा आन्दोलन गर्दै आफ्ना मागहरू प्रस्तुत गरिसकेका थिए। यद्यपि, ती मागहरूको ठोस कार्यान्वयन नभएकोले हालको आन्दोलन चरणलाई महासंघले थप निर्णायक हुन सक्ने बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे