
काठमाडौँ , २८ चैत । हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न भागहरूमा सामान्य वर्षा भइरहेको छ। मौसमविद् डेभिड ढकालका अनुसार आज मध्याह्न, अपराह्न र राति पनि सामान्य वर्षा जारी रहनेछ। वर्षासँगै उपत्यकासहित देशभर लागेको तुवाँलो क्रमिक रूपमा हट्ने उनले जानकारी दिएका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने देखिएको छ।
बागमती प्रदेशको हिमाली क्षेत्रमा दिउँसो आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। पहाडी क्षेत्रमा आंशिकदेखि पूर्ण बदली रहन सक्ने र मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना पनि छ।
तराई भू-भागमा पनि आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङ तथा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। राति पनि हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना कायम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे