
काठमाडौं — संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुने तय भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।
गत चैत १९ गते सम्पन्न भएको हिउँदे अधिवेशनपछि सांसदहरू तीन साता फुर्सदमा रहेका थिए। त्यसयता पहिलोपटक संसद् बैठक बस्न लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनापछि अधिवेशन सुरु गर्ने तयारी गरेका थिए। तर, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूको दबाबका कारण सरकारले अधिवेशन केही दिनअघि नै बोलाएको हो। आन्दोलनको चपेटामा परेको सरकारले संसदमार्फत शिक्षकहरूको माग सम्बोधन गर्न सुरुआती चरणमै विधेयक अघि सार्ने निर्णय गरेको जनाइएको छ। तर, आन्दोलनरत शिक्षकहरूले सरकारको घोषणालाई अझै विश्वासका साथ लिन नसकेको र आन्दोलन यथावत् राखिएको जनाएको छ।
सरकारको निर्णय अनुसार, संसद्को पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक र सामाजिक विषयवस्तुमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बैठकको सुरुवातमै प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिएका छन्।
त्यसैगरी, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ संसदमा प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे